३. नियुक्ति गर्न सकिने
(१) नेपालको आन्तरिक सुरक्षा, निर्वाचन, दैवी प्रकोप वा अन्य कुनै विशेष कारण परी शाही नेपाली सेनामा तत्काल थप सैनिकको आवश्यकता परेमा नेपाल सरकारको स्वीकृति लिई नियम ९ बमोजिम गठित सिफारिश समितिको सिफारिशमा जङ्गी अड्डाले सहायक रथी वा सो भन्दा तल्लो दर्जाका भूतपूर्व सैनिकलाई करारमा नियुक्ति गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्तिको लागि आवश्यक पर्ने पदको संख्या र नियुक्तिको प्रक्रिया जङ्गी अड्डाले नेपाल सरकारको स्वीकृति लिई निर्धारण गरे बमोजिम हुनेछ ।
(३) उपनियम (१) बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिकको अवधि सामान्यतया एक वर्षको हुनेछ र त्यस्तो अवधि आवश्यकतानुसार थप गर्न सकिनेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिम नियुक्ति भएका भूतपूर्व सैनिकको काम सन्तोषजनक नदेखिएमा करारको म्याद समाप्त हुनु अगावै त्यस्तो भूतपूर्व सैनिकलाई जङ्गी अड्डाले हटाउन सक्नेछ ।